आइपिएल २०२१ का लागि बिहीबार चेन्नईमा मिनि अक्सन हुँदैछ। अक्सनका लागि २९२ खेलाडी सूचीमा छन्। युवा लेगस्पिनर सन्दीप लामिछाने सूचीमा पर्ने नेपालका एक मात्र खेलाडी हुन्।
पछिल्लो तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा आबद्ध थिए। दुई सिजनमा मौका पाएका सन्दीपले सिजन २०२० मा मौका पाउन सकेनन्।
सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए।
गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेनन्।
यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु रहेको छ। अक्सनअघि सन्दीप कुन टिममा आबद्ध होलान् या नहोलान् नेपाली क्रिकेटप्रेमीलाई चासो छ।
सन्दीपको सम्भावना
मुम्बई इण्डियन्समा यसपटक चार जना विदेशी खेलाडीको कोटा खाली छ।
मुम्बईमा राहुल चाहरपछि अन्य प्रभावशाली स्पिनर छैनन्। त्यसैले सन्दीप मुम्बईका लागि ब्याकअप स्पिरनको रुपमा प्रयोग हुन सक्छन्। केही सिजनअघि मुम्बईले श्रीलंकन स्पिनर अकिला धनन्जयलाई भित्र्याएको थियो, तर उनी चल्न सकेनन्।
यस सिजनदेखि किंग्स ११ पञ्जावको नाम फेरर पञ्जाव किंग्स बनेको पञ्जावमा पनि सन्दीपको सम्भावना छ। टिममा ५ जना विदेशी खेलाडीको कोटा खाली छ।
पञ्जावले यो सिजन आफगानिस्तानका स्पिनर मुजिब उर रहमानलाई रिलिज गरेको थियो। टिममा रहेका स्पिनरहरु मुरुगन आस्विन र रवि बिश्नोइले गत सिजन सोचेअनुरुप प्रदर्शन गर्न सकेका थिएनन्।
सन्दीपलाई कोलकता नाइटराइडर्सले पनि लिन सक्नेछ। कोलकताका स्पिनर सुनिल नारिनले अहिले ओपनिङ ब्याटिङ गर्ने गरेका छन्। तर उनले पछिल्ला सिजनमा बलिङमा भने जादू देखाउन सकेका छैनन्। नारिनको विकल्प सन्दीप हुन सक्छन्।
कुन टिम कति कोटा खाली?
पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ। ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ।
रोयल च्यालेन्जर्स बेंग्लोरले ४ जना विदेशीसहित १३ जना खेलाडी लिन पाउनेछ। राजस्थान रोयल्सले ३ विदेशी खेलाडीसहित ८ खेलाडी भित्र्याउनेछ।
चेन्नई सुपरकिंग्समा १ विदेशीसहित ७ खेलाडीको कोटा खाँली छ। मुम्बईमा ४ विदेशीसहित ७ खेलाडी आबद्ध हुनेछन्।
दिल्ली क्याम्पिटल्समा २ जना विदेशीसहित ६ खेलाडी र कोलकता नाइट राइडर्समा २ विदेशीसहित ८ खेलाडी अक्सनबाट छनोट हुनेछन्।
सबैभन्दा कम कोटा सनराइजर्स हैदरावादमा छ। हैदरावादमा १ विदेशीसहित ३ खेलाडी अक्सनबाट छनोट हुन सक्नेछन्।
आइपिएल २०२१ मा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने नयाँ टिममा आबद्ध हुन सक्नेछन्। सन्दीपलाई दिल्लीले यहि सिजनदेखि रिलिज गरेको थियो।
२०२१ को आइपिएल भारतमा नै हुने वा अन्य देशमा हुने विषयमा अझै टुंगो लागिसकेको छैन। यसअघि कोरोनाका कारण २०२० को आइपिएल युएईमा भएको थियो।