कृष्णप्पा गौतम आइपिएल इतिहासकै सबैभन्दा महँगा 'अनक्याप्ड' (राष्ट्रिय टिमबाट नखेलेको) खेलाडी बने।
बिहीबार भएको अक्सनमा अलराउन्डर गौतमलाई चेन्नई सुपरकिंग्सले भित्र्याएको हो।
न्यूनतम मूल्य २० लाख भारु रहेका उनलाई चेन्नईले ९ करोड २५ लाख भारुमा टिममा भित्र्याएको हो।
उनलाई भित्र्याउन कोलकता नाइटराइडर्स र सनराइजर्स हैदरावादले पनि बोली लगाएका थिए।
तर अन्तिममा चेन्नईले टिममा आबद्ध गर्न सफल भयो। यसअघि अनक्याप्ड खेलाडी मध्ये क्रुनाल पाण्डे महँगा खेलाडी बनेका थिए। उनी सन् २०१८ मा ८ करोड ८० लाखमा बिकेका थिए।
भारत र इंग्ल्यान्डबीचको टेस्ट सिरिजका दौरान गौतम नेट बलरमा समावेश भएका थिए।
केही अघि भारतमा भएको मुश्ताक अली टी-२० ट्रफीमा उनले उत्कृष्ट बलिङ गरेका थिए।
स्पिनर गौतमले ६२ टी२० खेलमा ४१ विकेट लिएका छन्। उनले २ अर्धशतक पनि बनाएका छन्। कर्नाटकाका गौतमको स्ट्राइक रेट १५९.२४ छ।
उनको बलिङमा उत्कृष्ट प्रदर्शन १९ रन दिएर ४ विकेट लिनु हो।