पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष इशन मनीले भारतमा आगामी अक्टोबरमा हुने टी-२० विश्वकपमा सहभागी हुने चाहने पाकिस्तानका सबै पक्षलाई सुरक्षा र भिसा दिन भारतले लिखित प्रतिबद्धता जनाउनु पर्ने माग गरेका छन्।
यसो नगरे पाकिस्तानले भारतबाट अर्को देशमा विश्वकप सार्न माग गर्ने अध्यक्ष मनीको भनाइ छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतले कुनै कारण विश्वकप आयोजना गर्न नसके युएईलाई विकल्पको रुपमा राखेको छ।
२०२० को विश्वकप कोरोना भाइरसका कारण स्थगित भएको थियो। त्यहिँ विश्वकप भारतमा हुन लागेको हो। अस्ट्रेलियामा भने २०२२ को टी-२० विश्वकप हुनेछ।
पाकिस्तान र भारतको राजनीतिक तनावले क्रिकेटमा पनि असर गर्ने देखिएपछि आइसिसीले दुवै पक्षसँग छलफल गरिरहेको छ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मनीले पाकिस्तान सरकारले भारत क्रिकेट नखेल भनेर कहिल्यै नभनेको बताए। भारतमा हुने विश्वकपमा पाकिस्तान सहभागी हुन सदैव तयार भएको उनको भनाइ छ।
तर विश्वकपमा सहभागी हुनका लागि भारतले पाकिस्तानका क्रिकेट खेलाडीसँगै अन्य क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुलाई पनि सुरक्षा र भिसाको दिने लिखित रुपमा प्रतिबद्धता जनाउनु पर्ने माग गरे।