आगामी फागुन २२ देखि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता फागुन २९ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता त्रिवि मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा गत महिना भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र प्रदेशका खेलाडी सम्मिलित अर्को एक टिम गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
जसमा उपाधि विजेता त्रिभुवन आर्मी क्लबसहित फाइनल पुगेको नेपाल एपिएफ क्लब तथा सेमिफाइनलमा पुगेका नेपाल पुलिस क्लब र बागमती प्रदेश सहभागी हुनेछन्।
यस्तै अर्को टिम काठमाडौं महानगरपालिका हुनेछ। महानगरपालिकाको टिममा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सूदूपश्चिम प्रदेशका खेलाडी हुनेछन्।
क्यानले प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने तथा शीर्ष दुई टिमबीच फाइनल हुने जनाएको छ।
प्रतियोगिता सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ।
मेयर कप हुने भएपछि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण केहि समयका लागि स्थगित भएको छ।
प्रशिक्षक डेभ वाटमोरले मंगलबार अन्तिम अभ्यास गराएका थिए। अन्तिम दिन दुई टिम बनाएर प्रतिस्पर्धा गराइएको थियो।
तत्कालका लागि नेपालको अन्तर्राष्ट्रिय खेल नभएपछि बन्द प्रशिक्षण पनि स्थगित गरिएको बताइएको छ। यसविषयमा क्यानले औपचारिक जानकारी दिएको छैन।