अस्ट्रेलिया र न्युजिल्यान्डबीचको पाँच खेलको टी-२० सिरिजमा न्युजिल्यान्डले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
बिहीबार भएको रोमाञ्चक दोस्रो टी-२० खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई ४ रनले पराजित गर्दै सिरिजमा २-० को अग्रता लियो।
खेलको दुवै इनिङ्ग्समा गरी कुल ४३४ रन बनेको थियो।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २१९ रनको विशाल योगफल तयार गर्यो।
न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुपटिलले ९७ रन जोडे। ३ रनले शतक बनाउन चुकेका उनले ५० बलमा ६ चौका ८ छक्का प्रहार गरेका थिए।
कप्तान केन विलियमसनले ३५ बलमा ५३ रन जोड्दा जेम्स निशमले १६ बलमा नटआउट ४५ रन जोडे। निसमले १ चौका र ६ छक्का हिर्काएका थिए।
बलिङमा अस्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए।
२२० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पनि आक्रमक ब्याटिङ गर्यो। अन्तिम ओभरमा चुकेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा २१५ रन जोड्यो।
अस्ट्रेलियाका लागि मार्कोस स्टोइनिसले ७८ रन जोडे। उनले ३७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। जोश फिलिप्सले ३२ बलमा ४५ रन र ड्यानियल साम्सले १५ बलमा ४१ रन जोडेका थिए।
अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा साम्स आउट भएका थिए। अन्तिम ओभरमा स्टोइनिसले चौथो बलमा छक्का प्रहार गर्दा पाँचौ बलमा आउट भएका थिए।
बलिङमा न्युजिल्यान्डका मिचेल सान्टनरले ४ विकेट लिए भने निशमले २ विकेट हात पारे। अन्तिम ओभरमा निशमले बलिङ गरेका थिए।