न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान मार्टिन गुपटिलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन्।
बिहीबार अस्ट्रेलियाविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका गुपटिलले भारतका रोहित शर्मालाई पछि पार्दै टी-२० मा सर्वाधिक छक्काको रेकर्ड आफ्नो नाममा लेखाएका हुन्।
बिहीबार गुपटिलले ९७ रन प्रहार गरेका थिए। ५० बलमा उनले ६ चौका हिर्काउँदा ८ छक्का प्रहार गरेका थिए। जससँगै टी-२० उनको छक्काको संख्या १३२ पुग्यो।
सर्वाधिक छक्का हिर्काउने खेलाडीको सूचीको दोस्रो स्थानमा झरेका रोहित शर्माले १२७ छक्का प्रहार गरेका छन्।
गुपटिलले ९६ टी-२० खेल्दा रोहितले १०८ खेल खेलेका छन्।
टी-२० मा गुपटिलले २ शतक र १६ अर्धशतक बनाएका छन् भने रोहितले ४ शतक र २१ अर्धशतक प्रहार गरेका छन्।
चौकाको रेकर्डमा भने रोहित अघि छन्। रोहितले २४५ चौका र गुपटिलले २४० चौका हिर्काएका छन्।
यस्तै टी-२० मा सर्वाधिक रनमा पनि रोहित अघि छन्। रोहितले २७ सय ७३ रन बनाउँदा गुपटिलले २७ सय १८ रन जोडेका छन्।