इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित हात पारेको छ।
बिहीबार दोस्रो दिनमै जित हात पार्ने क्रममा भारतले इंग्ल्यान्डलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। जितसँगै चार टेस्टको सिरिजमा भारतले २-१ को अग्रता लिएको छ।
खराब ब्याटिङ गरेको इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिनाविकेटको क्षतिमा पूरा गर्यो। भारतका लागि रोहित शर्माले नटआउट २५ रन र शुभमान गिलले नटआउट १५ रन जोडे।
त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङ्ग्समा ८१ रनमै अलआउट भएको थियो। जसका कारण भारतले ४९ रनको झिनो लक्ष्य पाएको थियो।
दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका लागि बेन स्टोक्स सबैभन्दा बढि २५ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए।
बलिङमा भारतका अक्षर पटेलले ५ विकेट लिए भने रविचन्द्रन आस्विनले ४ विकेट हात पारे। पटेलले पहिलो इनिङ्ग्समा ६ विकेट लिएका थिए।
यसअघि पहिलो इनिङ्ग्समा भारत १४५ रन र इंग्ल्यान्ड ११२ रनमा अलआउट भएका थिए। पहिलो इनिङ्ग्समा भारतका लागि ओपनर रोहित शर्माले सबैभन्दा बढी ६६ रन जोडे।
विराट कोहली २७ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्के।
बलिङमा इंग्ल्यान्डका जोए रुटले ५ विकेट लिए भने ज्याक लिचले ४ विकेट हात पारे।