पाकिस्तानी क्रिकेटर उमर अकमलमाथि लगाइएको प्रतिबन्ध एक वर्षमा झारिएको छ। कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले उनीमाथिको प्रतिबन्ध एक वर्ष झार्ने निर्णय गरेको हो।
३० वर्षीय अकमललाई १८ हजार ९ सय २५ पाउन्ड पनि जरिबाना गरिएको छ।
गत वर्ष पाकिस्तान क्रिकेट बोर्डले उनीमाथि सुरुमा तीन वर्षको प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्रतिबन्ध घटाएर १८ महिनामा झारिएको थियो।
यो प्रतिबन्धविरुद्ध उनले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा अपील गरेका थिए।
अब अकमलले पुनर्स्थापना कार्यक्रम पूरा गरेपछि क्रिकेट खेल्न पाउनेछन्।
पाकिस्तान क्रिकेट बोर्डले अकमललाई पाकिस्तान सुपर लिगअघि भ्रष्ट काम गर्न खोजेको भन्दै सबै खाले क्रिकेटबाट तीन वर्षको प्रतिबन्ध लगाइएको थियो।
फिक्सिङको विषयमा आएको प्रस्तावको जानकारी समयमै नगराएकोमा अकमललाई दोषी ठहर्याइएको थियो।
उनले भारतविरुद्धका केहि खेलअघि आफूलाई फिक्सिङको प्रस्ताव आएको दाबी गरेका थिए।
अकमलले सन् २०१९ को अक्टोबरमा श्रीलंकाविरुद्ध टी-२० खेल खेलपछि देशका लागि खेलेका छैनन्।
यसअघि पाकिस्तान सुपर लिग २०२० सुरु हुनुअघि क्वेटा ग्लाडिएर्टसले उनलाई अनावश्यक बोलेको भन्दै निलम्बन गरेको थियो।
यद्यपी उनले आफूले प्रस्ताव आउनासाथ क्रिकेट बोर्डलाई जानकारी गराएको र अरु खेलाडीलाई पनि सचेत गराएको भन्दै आफू निर्दोष भएको बताउँदै आएका छन्।
उमरले पाकिस्तानका लागि १६ टेस्ट, १२१ एकदिवसीय र ८४ टी-२० खेलेका छन्।