पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न कराँचीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने शुक्रबार राति स्वदेश फर्कने भएका छन्।
सन्दीप सिजनको पिएसएलमा लाहोरमा आबद्ध भएका थिए।
कोरोना भाइरसका कारण पिएसएल बीचैमा स्थगित भएपछि सन्दीप स्वदेश फर्कन लागेका हुन्। सन्दीप पिएसएलमा भाग लिन गत शनिबार कराँची पुगेका थिए।
सन्दीप क्वारेन्टिनमा रहेको अवस्थामा पिएसएल अनिश्चितकालका लागि स्थगित भएको थियो। जसका कारण सन्दीपले सिजनको पिएसएलमा कुनै पनि खेल खेल्न पाएनन्।
सन्दीपले शुक्रबार पाकिस्तानमा कोरोनाको पिसिआर टेस्ट गरेर नेपाल फर्कने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए।
दासका अनुसार नेपाल आइपुगेपछि सन्दीपको शनिबार अर्को पिसिआर टेस्ट हुनेछ। पिसिआर टेस्ट नेगेटिभ आए सन्दीप शनिबारदेखि सुरु हुने काठमाडौं मेयर कपमा सहभागी हुने क्यानले जनाएको छ।
उनले कपमा काठमाडौं मेयर ११ टिमको कप्तानी गर्ने दासले जानकारी दिए।
कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा सञ्चालन हुने कपका लागि यसअघि नै काठमाडौं महानगरपालिकाको प्रतिनिधित्व गर्ने काठमाडौं मेयर ११ टिम घोषणा गरिएको थियो।
क्यानका अनुसार टिममा सन्दीप थपिएका छन् भने अन्य कुनै परिवर्तन गरिएको छैन।
टिममा सिद्धान्त लोहनीसहित हरिशंकर साह, विवेक यादव, विपिन खत्री, अर्जुन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनरा, विपिन रावल, रवीन्द्रजंग शाही, खडगबहादुर बोहरा र नारायण जोशी छन्।
प्रतियोगितामा गत महिना भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र प्रदेशका खेलाडी सम्मिलित काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुन लागेको हो।
जसमा उपाधि विजेता त्रिभुवन आर्मी क्लबसहित फाइनल पुगेको नेपाल एपिएफ क्लब तथा सेमिफाइनलमा पुगेका नेपाल पुलिस क्लब र बागमती प्रदेश सहभागी हुनेछन्। पाँचौ टिम काठमाडौं मेयर ११ रहेको छ।
क्यानको आयोजनामा हुने प्रतियोगिता फागुन २९ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताको पहिलो दिन शनिबार त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ। शनिबार नै मुलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ।
क्यानले प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने तथा शीर्ष दुई टिमबीच फाइनल हुने जनाएको छ।
प्रतियोगिता सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ प्रदान गरेको थियो।