नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले दुई वर्षपछि घरेलु प्रतियोगिता खेलेका छन्।
शनिबारदेखि सुरु भएको काठमाडौं मेयर्स कपमार्फत सन्दीप घरेलु क्रिकेटमा फर्किएका हुन्। सन्दीपले कपमा काठमाडौं मेयर्स ११ को कप्तानी गरेका छन्।
कोरोना भाइरसका कारण पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित भएपछि सन्दीप शुक्रबार राति स्वदेश फर्किएका थिए।
आइतबार काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशविरुद्ध सन्दीपले खेलेका हुन्।
यसअघि सन्दीपले पछिल्लो पटक २०१८ डिसेम्बरमाएभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु क्रिकेट खेलेका थिए। त्यतिबेला उनी बीचैमा बिग बास लिग खेल्न अस्ट्रेलिया गएका थिए।
आइतबार मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा २४४ रन जोडेको छ।
जसमा कप्तान सन्दीपले ४२ रनको योगदान दिए। उनले २० बलमा ६ छक्का हिर्काए।
यस्तै सन्दीप रजालीले ३३ रन बटुले भने सिद्धान्त लोहनीले ३४ रनको योगदान दिए। सौरभ खनालले नटआउट ४९ रन जोडे भने बिपिन खत्रीले ३२ रन बटुले।
त्यसअघि खराब सुरुवात गरेको काठमाडौंले १३ ओभर चल्दा ४ विकेट गुमाएको थियो भने केवल ३७ रन जोडेको थियो।
बलिङमा बागमतीका नन्दन यादवले ४ विकेट लिए। रामनरेश गिरी र आरियो पौडेलले २-२ विकेट लिए।