काठमाडौं मेयर्स कपमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
एपिएफले आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो। यसअघि शनिबार भएको पहिलो खेलमा पनि एपिएफले त्रिभुवन आर्मीलाई १ विकेटले नै हराएको थियो।
पुलिसले दिएको २५९ रनको लक्ष्य एपिएफले १ बल खेल्न बाँकी छदा ९ विकेट गुमाएर पार गर्यो। एपिएफको जितमा कप्तान शरद भेषवाकरले नटआउट २० रन र सुमित महर्जनले नटआउट ३३ रन जोडे।
ओपनरद्वय सुवास खकुरेलले ५० रन र आसिफ शेखले ४२ रन जोड्दा एपिएफले राम्रो सुरुवात गरेको थियो। यस्तै सन्दीप जोराले ६१ रन जोड्दा एपिएफको जितको आधार तय भएको थियो।
बलिङमा पुलिसका पवन सर्राफले ५ विकेट लिए। योगेन्द्रसिंह कार्कीले २ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले अलराउन्डर दीपेन्द्रसिंह ऐरीको शतकको मद्दतमा ७ विकेटको क्षतिमा २५८ रन जोड्यो।
ऐरीले १४० रन प्रहार गरे। उनले १३१ बलमा ११ चौका र ६ छक्का हिर्काए। सुनील धमलाले ३३ रन जोडे भने पवन सर्राफले ३५ रनको योगदान दिए।
बलिङमा एपिएफका कप्तान शरद भेषवाकरले ३ विकेट र अभिनास बोहोराले २ विकेट हात पारे।