वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ।
आइतबार राति भएको तेस्रो टी-२० खेलमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै घरेलु टिम वेस्ट इन्डिजले सिरिज २-१ ले जितेको थियो।
यसअघि पहिलो खेल वेस्ट इन्डिजले जित्दा दोस्रो खेलमा श्रीलंका विजयी भएको थियो।
आइतबार पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेटको क्षतिमा १३१ रन जोड्यो।
श्रीलंकाका शीर्ष तीन ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। त्यसपछि मैदान छिरेका दिनेश चण्डीमालले ४६ बलमा नटआउट ५४ रन जोड्दा अशेन भण्डाराले ३५ बलमा नटआउट ४४ रनको योगदान गरे।
बलिङमा वेस्ट इन्डिजका फाबियन एलेन, केभिन सिन्चेयर, जासन होल्डर र ओबेड म्याककोएले १-१ विकेट लिए।
१३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। वेस्ट इन्डिजका लागि ओपनरद्वय लेन्ड सिमोन्सले २६ रन र इभिन लेविसले २१ रन जोडे।
निकोलास पुरनले २३ रन जोड्दा जासन होल्डरले नटआउट १४ रन र फाबियन एलेनले नटआउट २१ रन बटुले।
बलिङमा श्रीलंकाका लक्षण सान्दाकनले ३ विकेट लिए। डे सिल्भा र दुस्मन्था चमीराले २-२ विकेट लिए।