काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले काठमाडौं मेयर्स-११ लाई ५ विकेटले पराजित गरेको हो।
यसअघि आर्मी पहिलो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो। यता पहिलो खेलमा बागमती प्रदेशलाई हराएको काठमाडौं मेयर्स ११ को भने यो पहिलो हार हो।
काठमाडौंले दिएको १ सय ५६ रनको लक्ष्य आर्मीले ५ विकेटको क्षतिमा २३.५ ओभरमा पूरा गर्यो।
आर्मीको जितमा ओपनर सोमपाल कामीले ८० रन जोडे। उनले ५१ बलमा ९ चौका र ६ छक्का हिर्काए। अर्का ओपनर लोकेश बम भने १ रनमै आउट भए।
रोहित पौडेल शून्यमा आउट हुँदा भीम सार्कीले १६ रन जोड्न सके। यस्तै कुशल मल्ल २३ बनाएर पेभिलियन फर्के।
कप्तान विनोद भण्डारीले नटआउट २० रन जोडे। उनले २७ बलमा ४ चौका हिर्काए। राजेश पुलामी मगरले नटआउट ८ रन बटुले।
बलिङमा काठमाडौंका कप्तान सन्दीप लामिछाने र विपिन खत्रीले २-२ विकेट लिए। अनिल खरेलले १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर्स ४२.१ ओभरमा १५५ रनमा अलआउट भयो।
काठमाडौंका लागि सौरभ खनालले सबैभन्दा बढी ४२ रन जोडे। उनले ७४ बलमा २ चौका र २ छक्का हिर्काए। सन्दीप रजालीले ३७ रन जोड्दा ओपनर हरिशंकर साहले १८ रन जोडे।
सन्दीप लामिछानेले १३ रन मात्र बटुल्न सके।
बलिङमा आर्मीका सहाब अलामले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३९ रन दिए। यस्तै जितेन्द्र मुखियाले ३ विकेट हात पारे भने सोमपाल कामी, कुशल मल्ल र विक्रम शोवले १-१ लिन सफल भए।