आगामी असोजमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितालाई भारतीय ब्रान्ड 'सेभेन' ले सह-प्रायोजन गर्ने भएको छ।
गत वर्ष कोरोना भाइरसका कारण रोकिएको इपिएल आगामी असोज ९ देखि २३ सम्म गर्ने तय छ।
सेभेन 'फिटनेस र लाइफ-स्टाएल स्पोर्ट्सवेर' ब्रान्ड हो। रीति ग्रुपअन्तर्गत रहेको ब्रान्ड २०१६ मा सुरु भएको थियो।
ब्रान्डको सदभावना दूत भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी हुन्। यो ब्रान्डको जुत्तामा धोनीको पनि लगानी छ।
सेभेन अब इपिएलको किट पार्टनरको रुपमा रहनेछ। सेभेन इपिएलमा भाग लिने सबै ६ टिमको पनि पार्टनर हुनेछ।
इपिएलसँग सहकार्य गर्न पाउनु आफूहरुका लागि अवसर भएको रीति ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण पाण्डेले बताए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुँदै आएको छ।
जसमा काठमाडौं किङ्स इलेभेन, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स छन्।