काठमाडौं मेयर्स कपमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ। पुलिसले मंगलबार मुलपानी मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्यो।
आर्मीको भने यो दोस्रो हार हो। दुवैल टिमले तीन-तीन खेलेका छन्।
पहिले ब्याटिङ गरेको आर्मी खराब ब्याटिङको सिकार हुँदा ३०.१ ओभरमा ८७ रनमा अलआउट भयो।
आर्मीका ओपनरद्वय सोमपाल कामी ५ रन र राजु रिजाल ४ रनमा आउट भए। दुवैलाई पुलिसका सागर ढकालले क्याच आउट गरेका थिए।
त्यसपछि हरि चौहानलाई पुलिसका पवन सर्राफले ४ रनमा बोल्ड गरे। रोहित पौडेल १३ रन बनाएर सागर ढकालको बलमा आउट भए।
राजेश पुलामी पनि ६ रन बनाएर खेलिरहदा सागरकै सिकार बने। कुशल मल्ल शून्यमा सर्राफबाट आउट भए। सुसन भारीलाई १ रनमा सर्राफले एलबिडब्लूको धरापमा पारे। कप्तान विनोद भण्डारीलाई सागर ढकालले ३ रनमा बोल्ड गरे।
त्यसपछि लोकेश बमले २४ बलमा ३२ रन जोड्दा विक्रम शोवले ३४ बलमा १४ रन बटुले। दुवैलाई पुलिसका ललितनारयण राजवंशीले आउट गरे।
बलिङमा पुलिसका सागर ढकालले ५ विकेट लिँदा सर्राफले ३ विकेट हात पारे। ललितको नाममा २ विकेट रह्यो।
८८ रनको झिनो लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। पुलिसका लागि सुनील धमलाले ३९ रन र दिलीप नाथले १५ रनको योगदान दिए।
पवन सर्राफले नटआउट २२ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा आर्मीका सहाब अलामले ७ विकेट लिए। उनले टिमको तर्फबाट सबै विकेट लिने क्रममा ९ ओभरमा १ मेडन राख्दा ४५ रन दिए।