नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कफको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर्स ११ लाई १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो।
अंक तालिकाको शीर्ष स्थानको पुलिसले समूहका चार खेल खेल्दा तीन खेल जित्दै ६ अंक जोडेको छ। पुछारमा रहेको काठमाडौंको २ अंक छ।
अब लिग चरणका अन्तिम दुई खेल बाँकी छ। जसमा चार अंक जोडेर दोस्रो स्थानमा रहेको एपिएफ क्लब र पुछारको काठमाडौं भिडेछन्। जित हात पारे एपिएफ फाइनलमा पुग्नेछ।
त्यसअघि त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश बीच खेल हुनेछ। दुवै टिमको २-२ अंक छ। त्यसैले जित हात पार्ने टिमको फाइनल सम्भावना रहेछ। तर त्यसका लागि एपिएफले हार बेहोर्नु पर्नेछ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौं ३१.२ ओभरमा ९४ रनमै अलआउट भयो। काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सबैभन्दा बढी २६ रन जोडे। उनले १७ बलमा ३ चौका र २ छक्का हिर्काए। कृष्ण कार्कीले १९ रन र सिद्धान्त लोहनीले १८ रनको योगदान गरे।
अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा पुलिसका पवन सर्राफले ४ विकेट लिए। उनले ६.२ ओभरमा १ मेडन राख्दा १६ रन खर्चिए।
दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पार्दा ललितनारायण राजवंशीले २ विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिस ४७.४ ओभरमा १९७ रनमा अलआउट भयो। पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा बढी ४० रन जोडे। उनले ५५ बलमा ४ चौका हिर्काए। ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ३४ रन, पवन सर्राफले २८ र दीपेन्द्रसिंह ऐरीले २४ रन बनाए।
बलिङमा काठमाडौंका कप्तान सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर साहले ३-३ विकेट लिए। अनिल खरेलको नाममा १ विकेट रह्यो।