काठमाडौं मेयर्स कपमा अब लिग चरणका दुई खेल बाँकी छन्। ती दुई खेलले फाइनलमा पुग्ने एक टिमको टुंगो लगाउनेछ।
बुधबार भएको खेलमा जित निकाल्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको थियो। अब फाइनलको एक स्थानका लागि चार टिमले भिडन्त गर्नेछन्। कपमा लिग चरणका शीर्ष दुई टिमबीच फाइनल हुन लागेको हो।
सबै खेलेको शीर्ष स्थानको पुलिसको ६ अंक छ। एक खेल खेल्न बाँकी नेपाल एपिएफ क्लबको ४ अंक छ। यस्तै त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र काठमाडौं मेयर्स ११ को समान २-२ अंक छ।
एपिएफ, आर्मी, बागमती र काठमाडौं मध्ये एक टिम अब फाइनलमा पुग्नेछ। एपिएफलाई जित काफी छ। अन्य टिमका लागि जितले मात्र काफी हुँदैन एपिएफको हारको कामना समेत गर्नु पर्नेछ।
कपमा बिहीबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। जित पार्ने टिमको चार अंक हुनेछ भने फाइनल पुग्ने सम्भावना हुनेछ।
बिहीबार नै एपिएफ र काठमाडौं मेयर्सबीच खेल हुनेछ। एपिएफले जित हात पारे फाइनलमा स्थान पक्का गर्नेछ।
काठमाडौं विजयी भएमा उसको फाइनलमा पुग्ने सम्भावना हुनेछ। त्यसका लागि काठमाडौंले आर्मी र बागमतीबीचको खेलमा विजयी हुने टिमलाई रनरेटमा पछि पार्नु पर्नेछ।