काठमाडौं मेयर्स कपमा बागमती प्रदेशका अलराउन्डर पारस खड्काले शतक प्रहार गरेका छन्।
पारसले बुधबार त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा ११९ रन जोडेका हुन्।
बागमतीका ओपनर आकाश थापा गोल्डेन डकआउट भएपछि मैदान छिरेका पारसले १३३ बल खेलेर ११ चौका र २ छक्का हिर्काए।
पारस आर्मीका सोमपाल कामीको बलमा ४३ ओभरको चौथो बलमा जितेन्द्र मुखियाबाट क्याच भएका थिए। आकाशलाई पनि सोमपालले नै आउट गरेका थिए।
पछिल्लो समय घरेलु प्रतियोगितामा खासै फर्ममा नरहेका पारसले प्रधानमन्त्री कप र मेयर्स कपको अघिल्ला खेलमा अर्धशतक समेत प्रहार गर्ने सकेका थिएनन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरिरहेको बागमतीले ४४ ओभरमा ७ विकेट गुमाएर २१४ रन जोडेको छ। दुवै टिमलाई फाइनल पुग्न खेलमा जितको आवश्यकता छ।