सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब काठमाडौं मेयर्स कपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार मुलपानी मैदानमा भएको खेलमा काठमाडौ मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का गरेको हो। जितसँगै एपिएफले ६ अंक जोड्यो।
अब उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।
हारसँगै फाइनल पुग्ने काठमाडौंको लक्ष्य असफल भयो। एपिएफले जितले अर्को खेलमा प्रतिस्पर्धा गरिरहेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश पनि नतिजा नै नआइ बाहिरिएका छन्।
मुलपानीमा काठमाडौंले दिएको १७८ रनको लक्ष्य एपिएफले ३ विकेटको क्षतिमा ४४.१ ओभरमा ३ विकेट गुमाएर पार गर्यो।
एपिएफको जितमा सन्दीप जोराले नटआउट ६२ रन र कप्तान शरद भेषवाकरले नटआउट ६१ रन बटुले। जोराले ७९ बलमा ९ चौका र भेषवाकरले ११८ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनर शंकर रानाले ३१ रन जोड्दा उनका ओपनिङ पार्टनर आसिफ शेख शून्यमा आउट भए। यस्तै भुवन कार्की ११ रन बनाएर आउट भए।
बलिङमा काठमाडौंका अनुज चुनारा, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको काठमाडौं ४८.५ ओभरमा १७७ रनमा अलआउट भयो।
काठमाडौंका सन्दीप रजालीले ४८ रन र हरिशंकर साहले ३६ रनको योगदान दिए। विक्रम भुषालले २० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा एपिएफका अभिनास बोहरा र कमलसिंह ऐरीले ३-३ विकेट लिन सफल भए।