पछिल्लो एक दुई महिना नेपाली घरेलु क्रिकेट चलायमान रह्यो। राष्ट्रिय स्तरका दुई वटा एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना भए।
गत महिना प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना भयो। प्रदेशका ७ टिम र विभागका तीन टिम गरी १० टिमको सहभागीता रहेको प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो।
आर्मीले फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराएको थियो।
यो महिना काठमाडौं मेयर्स कप आयोजना भयो। जसको फाइनलमा शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
यसपटक पनि एपिएफ क्लब उपाधि होडमा छ। उसले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।
लिग चरणको खेलमा पुलिसमाथि एपिएफले जित निकालेको थियो। त्यसैले पुलिसका लागि लिग चरणमा बेहोरेको हारको बदला लिने मौका छ।
पुलिसका कप्तान मञ्जित श्रेष्ठ उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताउँछन्। उनले एपिएफ बलियो भएको बताए। तर पनि पुलिस उपाधि जित्नेमा आत्मविश्वासी रहेको उनको भनाइ छ।
गत महिना प्रधानमन्त्री कपको फाइनलमा हारेको पीडा एपिएफ शनिबार मेयर्य कपको उपाधि जितेर बिर्साउन चाहान्छ। त्यसैले कप्तान शरद भेषवाकर पनि उपाधिका लागि खेल्ने बताउँछन्।
भेषवाकरले एपिएफका महत्वपूर्ण खेलाडी घाइते भए पनि आफ्नो टिम उपाधि जित्न समक्ष रहेको बताए। साथै उनले मुलपानी मैदानभन्दा त्रिवि मैदानमा रन बनिरहेकाले राम्रो खेल्ने टिमले उपाधि जित्ने बताए।
उपाधि जित्ने टिमले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउँदा सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५-२५ हजार पाउनेछन् ।