लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौंले जितेको छ।
धनगढीमा शनिबार भएको फाइनल खेलमा साविक विजेता समेत रहेको धनगढीकै लिटल फ्लावर स्कुललाई ८० रनले पराजित गर्दै ह्वाइट हाउसले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो। उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए।
लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए। १ सय ६८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली लिटल फ्लावरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो।
लिटल फ्लावरका लागि निशान्त बुढा ऐरले १७ र पुष्करराज बडुले अविजित रहँदै १४ रन बनाए। ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरूप श्रेष्ठले २ विकेट लिए।
उपाधिसँगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजारमा चित्त बुझाएको छ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए। उनले नगद १० हजार पाए।
यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयीमान खेलाडी भए।
उनीहरूले ५/५ हजार प्राप्त गरे। लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा १५ फागुनदेखि सुरू भएको प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहेको थियो।
अर्को वर्ष अझै परिस्कृत रूपमा प्रतियोगिता आयोजना हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।