युएईका पूर्वकप्तान मोहमद नावीद तीन वर्षअघि फ्रेञ्चाइज क्रिकेट खेल्न नेपाल आएका थिए।
त्यतिबेला उनले एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएटर्सबाट खेले। इपिएलमा राम्रो प्रभाव देखाएका उनी धनगढी प्रिमियर लिग (डिपिएल) टिम महेन्द्रनगर युनाइटेडमा आबद्ध भएका थिए।
त्यहीँ वर्ष नवीदले नेपालविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि युएईको कप्तानको जिम्मेवारी पाएका थिए। नियमित कप्तान रोहन मुस्तफा प्रतिबन्धमा परेका कारण कप्तानीको जिम्मा नवीदलाई दिइएको थियो।
आफ्नो खेल करिअरको उच्च फर्ममा रहेका नवीदमाथि सन् २०१९ मा युएईमा भएको टी-२० विश्वकप छनोटका दौरान म्याच फिक्सिङ गर्न खोजेको आरोप लाग्यो। नवीदसँगै युएईका अर्का खेलाडी शैमान अन्वर पनि सो प्रकरणमा मुछिए।
त्यसपछि दुवै निलम्बनमा परे। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को स्वतन्त्र छानविन समितिले अनुसन्धान गर्यो।
दुई वर्षपछि मंगलबार आइसिसीको स्वतन्त्र समितिले नावीद र शैन्मनलाई सबै खाले क्रिकेटबाट ८ वर्षको प्रतिबन्ध लगाउने निर्णय गर्यो। समितिले दुवै जनाले म्याच फिक्सिङ गर्न खोजेको अभियोग पुष्टि गर्दै प्रतिबन्ध लगाएको हो।
प्रतिबन्धमा परेपछि नावीदले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन्। उनले अन्यायविरुद्ध अन्तिमसम्म लड्ने समेत बताएका छन्।
आफूले कुनै गलत कार्य नगरेको बताउँदै उनले खेलकुदको अन्तर्राष्ट्रिय अदालत कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्समा मुद्दा लड्ने बताएका छन्।
'एउटा मुस्लिमको रुपमा, एउटा मानवको रुपमा भनिरहेको छु म कुनै पनि नराम्रो सोचाइमा मुछिएको छैन,' नावीदले युएईको द नेसनलसँग कुरा गर्दै भनेका छन्,'मैले आइसिसीलाई जानकारी नगराएर गल्ती गरेँ, अहिले मेरो जीवन सकिएको छ। म यसलाई स्वीकार गर्नेवाला छैन।'
उनले अघि भनेका छन्,'जति बेलासम्म सक्छु लड्नेछु। जानकारी नदिएकोमा मात्र मलाई पछुतो छ। त्यति मात्र मेरो गल्ती हो। एउटा १५ मिनेटको बैठकले मेरो जीवन समाप्त गर्यो।'
नावीदमाथि विश्वकप छनोट २०१९ अन्तर्गत ओमान र आयरल्यान्डविरुद्धको खेलमा फिक्सिङ गर्न खोजेको अभियोग लगाइएको थियो।
भारतीय व्यापारी दीपक अग्रवालसँग नावीद र शैन्वानले छलफल गरेका थिए। त्यतिबेला २ लाख ७० हजार अमेरिकी डलरमा म्याच फिक्सिङ गर्न प्रस्ताव गरिएको द नेसनलले लेखेको छ।
अग्रवालसँगको बैठकका दौरान नावीदले युएईको कप्तानको रुपमा आफूले जे पनि गर्न सक्ने बताएको आइसिसीको दाबी छ।