इंग्लिस ब्याट्सम्यान डेविड मलानले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन्। मलानले रेकर्ड बनाउने क्रममा पाकिस्तानका बाबर अजाम र भारतका विराट कोहलीलाई पछि पारे।
शनिबार भारतविरुद्धको पाँचौ टी-२० खेलमा ६८ रन जोडेका मलान टी-२० अन्तर्राष्ट्रिय खेलमा छिटो एक हजार रन पूरा गर्ने ब्याट्सम्यान बनाए। मलान हाल टी-२० वरीयताको शीर्ष स्थानमा रहेका ब्याट्सम्यान हुन्।
इंग्ल्यान्डका मिडल अर्डर ब्याट्सम्यान मलानले १ हजार रन २४ खेलमा पूरा गरे। ३३ वर्षीय मलानले सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट टी-२० मा डेब्यू गरेका थिए।
त्यसयता उनले टी-२० मा एक शतक प्रहार गर्दा ६ अर्धशतक हिर्काइसकेका छन्।
यसअघि बाबरले २६ इनिङ्ग्समा एक हजार रन बनाएका थिए।
कोहलीलाई एक हजार रन कटाउन २७ इनिङ्ग्स खेल्नु परेको थियो। कोहली गत साता टी-२० मा ३ हजार रन कटाउने पहिलो ब्याट्सम्यान बनेका थिए।