इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा घरेलु टिम भारतले विजयी सुरूवात गरेको छ।
भारतले मंगलबार पुनेमा भएको पहिलो एकदिवसीय खेलमा इंग्ल्यान्डमाथि ६६ रनको जित निकालेको हो।
भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२.१ ओभरमा २५१ रनमा अलआउट भयो।
इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जोनी बायस्टोले ६६ बलमा ९४ रन र ओपनर जासन रोएले ३५ बलमा ४६ रन जोडे। दुईबीच १३५ रनको ओपनिङ साझेदारी भएपछि इंग्ल्यान्डले गतिलो सुरूवात गर्न सफल भयो।
त्यसपछि बेन स्टोक्स १ रन र जोस बटलर २ रनमै आउट भए। कप्तान इयान मोर्गानले पनि २२ रन भन्दा बढी जोड्न सकेनन्।
बलिङमा भारतका डेब्यू खेलाडी प्रसिद्ध कृष्णाले ४ विकेट लिए। उनले ८.१ ओभरमा १ मेडन राख्दा ५४ रन खर्चिए। यो भारतका लागि डेब्यू खेलाडीले गरेको उत्कृष्ट बलिङ हो। शार्दूल ठाकुरले ३ विकेट हात पार्दा भुवनेश्वर कुमारले २ विकेट र अर्का डेब्यू खेलाडी क्रुनाल पाण्ड्याले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३१७ रन जोड्यो।
भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले ९८ रन जोडे। अर्का ओपनर रोहित शर्मा २८ रनमा आउट हुँदा कप्तान विराट कोहलीले ५६ रन बटुले।
श्रेयस इयर ६ रन र हार्दिक पाण्ड्या १ रनम आउट भए। केएल राहुलले नटआउट ६२ रन र डेब्यू खेलाडी क्रुनाल पाण्ड्याले नटआउट ५८ रन जोडे। क्रुनालले ३१ बलमा ७ चौका र २ छक्का तथा राहुलले ४३ बलमा ४ चौका र ४ छक्का हिर्काए।
बलिङमा इंग्ल्यान्डका बेन स्टोक्सले ३ विकेट लिए। मार्क उडको नाममा २ विकेट रह्यो।