राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा अनिल साहले लगातार दोस्रो शतक प्रहार गरेका छन्। बजाज खडक वारियर्सका ब्याट्सम्यान साहले बुधबार रुपनी राइडर्सविरुद्धको खेलमा शतक प्रहार गरेका हुन्।
उनले ११३ रन बनाउने क्रममा ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्सबिरुद्ध पनि शतक बनाएका थिए।
अनिलको शतकमा वारियर्सले रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गर्यो।
राज रंगशालामा भएको खेलमा वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले १७ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। रुपनीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए।
बलिङमा वारियर्सका गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए। अनिल खरेल र विवेक यादवले समान २ विकेट हात पारे।
यस अघि टस जितेर ब्याटिङ गरेको वारियर्सले अनिलको शतकमा २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो। खेलको प्लेयर अफ द म्याच अनिल चुनिए।
दिनको दोश्रो खेलमा तिलाठी कोईलाडी जायन्टसले टिभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित गर्यो।
राजविराजले दिएको १४५ रनको लक्ष्य तिलाठीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्यो।
तिलाठीको जितमा राशिद खानले नटआउट ६५ रन बनाए। उनले २९ बलमा २ चौका र ८ छक्का प्रहार गरे।
बलिङमा राजविराजका दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो।
उसका लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए। उनले ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गरे।
प्रतियोगिता चौथो दिनको खेल समाप्ति पछि तीन खेललमा दुई जित र एक हार बेहोरेका रियर्स, रुपनी राईडर्स र तिलाठी क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन्।