जोनी बेयरस्टो र बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्डले भारतलाई पराजित गरेको छ। पुनेमा शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको हो।
जितसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ। अब आइतबार हुने तेस्रो खेल निर्णायक हुने भएको छ।
शुक्रबार भारतले दिएको ३३७ रनको लक्ष्य इंग्ल्यान्डले ४३.३ ओभरमै ४ विकेट गुमाएर पार गर्यो।
इंग्ल्यान्डको जितमा बेयरस्टोले १२४ रनको शतकीय पारी खेले। उनले ११२ बलमा ११ चौका र ७ छक्का हिर्काए।
स्टोक्स एक रनबाट शतक बनाउन चुके। ९९ रनमा आउट हुनुअघि स्टोक्सले ५२ बलमा ४ चौका र १० छक्का हिर्काए।
त्यसअघि ओपनर जासन रोए ५५ रनमा रनआउट भएका थिए।
डविड मलानले नटआउट १६ रन जोड्दा कप्तानीको भूमीका रहेका जोस बटलर शून्यमा आउट भए। डेब्यू खेलाडी लियाम लिभिङस्टोनले नटआउट २७ रन बटुले।
बलिङमा भारतका प्रसिद्ध कृष्णाले २ विकेट लिए भने भुवनेश्वर कुमारले १ विकेट हात पारे।
त्यसअघि पुनेमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा ३३६ रन जोड्यो।
भारतका लागि राहुलले १०८ रन जोडे। यो उनको एकदिवसीय खेलमा पाँचौ शतक हो। उनले ११४ बलको सामना गर्दा ७ चौका र २ छक्का हिर्काए।
भारतका ओपनर रोहित शर्मा २५ रन र शिखर धवन ४ रनमा आउट भएका थिए।
कप्तान विराट कोहलीले ६६ रन जोडे। उनले ७९ बलमा ३ चौका र १ छिक्का प्रहार गरे। कोलहीको यो एकदिवसीय खेलमा लगातार चौथो अर्धशतक हो।
रिशव पन्तले ४० बलमा ७७ रन बनाए। उनले ३ चौका र ७ छक्का हिर्काए।
हार्दिक पाण्ड्याले १६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३५ रन जोडे भने क्रुनाल पाण्ड्याले नटआउट १२ रन जोडे।
बलिङमा इंग्ल्यान्डका टम कुरान र रेस टोपले २-२ विकेट लिए। साम कुरान र अदिल रासिदले १-१ विकेट हात पारे।