बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।
राज रंगशालामा शनिबार सम्पन्न फाइनलमा वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो।
वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो।
राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए।
बजाज खडक वारियर्सको बलिङमा अनिल खरेल र गोमानन्द अमात्यले समान ३ विकेट लिए। खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए। भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १४६ रन बनाएको थियो।
वारियर्सको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाए।
पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए।
राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।
उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो। यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार साह चुनिए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए।
प्रतियोगिताकै उत्कृष्ट बलर विशाल सुश्लिङ र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए। उनीहरूले जनही १५-१५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।