पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिजमा पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले उत्कृष्ट ब्याटिङ गरेका छन्।
आइतबार राति जोहानेसवर्गमा भएको दोस्रो एकदिवसीय खेलमा फखरले १९३ रन जोडे। दक्षिण अफ्रिकाले दिएको ३४२ रनको लक्ष्य पछ्याउने क्रममा फखरले १५५ बलमा १८ चौका र १० छक्का हिर्काएका थिए।
उनी अन्तिम ओभरको पहिलो बलमा रनआउट भएका थिए। बाउन्ड्री लाइनबाट दक्षिण अफ्रिकाका एइडेन मक्रमले डाइरेक्ट हिटमार्फत फखरलाई रनआउट गरेका थिए।
पाकिस्तानका कप्तान बाबर अजामले फखरको ब्याटिङलाई एक उत्कृष्ट इनिङ्ग्सको संज्ञा दिएका छन्। यस्तै दक्षिण अफ्रिकाका कप्तान तेम्बा बाभुमाले फखरको ब्याटिङलाई प्रशंसा गर्दै आफूले हेरेकामध्ये उत्कृष्ट ब्याटिङ भनेका छन्।
अन्तिम ओभरमा जितका लागि ३१ रन चाहिएको अवस्थामा पाकिस्तान हार नजिक पुगेको थियो।
३० वर्षीय बायाँ हाते ब्याट्सम्यान फखरको उत्कृष्ट ब्याटिङका बावजुद पाकिस्तान १७ रनले पराजित भयो। पाकिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२४ रन जोड्यो।
पाकिस्तानका लागि फखरबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्।
बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ३ विकेट लिए।
त्यसअघि दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३४१ रन जोड्यो।
दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बाभुमाले ९२ रन जोड्दा ओपनर क्वान्टन डि ककले ८० रन बटुले।
भान डेर डुसनले ३७ बलमा ६० रन र डेभिड मिल्लरले २७ बलमा ५० रनको योगदान दिए।
बलिङमा पाकिस्तानका हरिस राउफले ३ विकेट लिए।
घरेलु टिम दक्षिण अफ्रिकाले जित हात पारेसँगै ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ।