ललितपुर मेयर महिला च्याम्पियनसिपमा एपिएफ क्लब लगातार तेस्रो खेलमा विजयी भएको छ। जितसँगै एपिएफ फाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा एपिएफले ललितपुर मेयर्स-११ लाई १० विकेट पराजित गर्यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुरले दिएको ६७ रनको लक्ष्य एपिएफले विकेट नगुमाइ ९.१ ओभरमा पूरा गर्यो।
एपिएफको जितमा राजमती ऐरीले नटआउट ३३ रन र इन्दू बर्माले नटआउट २८ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा ६६ रन मात्र जोड्न सक्यो। उसका लागि कञ्चन श्रेष्ठले सबैभन्दा बढी १७ रन जोडिन्।
बलिङमा एपिएफकी बिनु बुढाले ४ विकेट लिइन्। उनले ४ ओभरमा ११ रन खर्चिइन्।
जारी प्रतियोगितामा एपिएफको यो लगातार तेस्रो जित हो। एपिएफले यसअघि सुदूरपश्चिम र प्रदेश एकलाई हराएको थियो।