नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले विभिन्न १० निर्णय गरेको छ। शुक्रबार मुलपानीमा बसेको बैठकले २०२१ मेको तेस्रो साता नामिबियासँग एकदिवसीय सिरिज सञ्चालनका लागि तयारी गर्ने लगायतको निर्णय गरेको छ।
नेपाल प्रिमियर लिग, राष्ट्रिय टिमको जर्सी प्रायोजन, वैशाख पहिलो साता हुने त्रिदेशीय क्रिकेट सिरिजको व्यवस्थापन नीजि कम्पनी दिने विषयमा बैठकमा छलफल भए पनि त्यस विषयमा भएको निर्णय सार्वजनिक गरिएको छैन।
आगामी वैशाख पहिलो सातादेखि नेपाली महिला क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारतबीच टी-२० र एकदिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको छ।
यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सञ्चालन गर्न मुख्य प्रायोजक वाइ वाइसँग सम्झौता गर्ने निर्णय भएको छ।
महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई जिम्मेवारी दिइको छ।
महिला तथा पुरुष १८-१८ जना राष्ट्रिय क्रिकेटरसँग आगामी मे १५ भित्र सम्झौता गर्नका लागि खेलाडी छनोट गर्न समिति बनाइएको छ। जसमा उपाध्यक्ष राजुबाबु श्रेष्ठ, संजयराज सिंह, प्रशान्त विक्रम मल्ल तथा अन्य दुई जना विज्ञ हुनेछन्।
क्यानको बेरुजु फर्छ्योटका लागि ३५ दिने सूचना निकालिने भएको छ।
संघअन्तर्गत रहेका समितिलाई पूर्णता दिने निर्णय गरिएको छ। जसमा अनुशासन समितिको संयोजकमा सैलेश कर्माचार्य, उपसंयोजकमा रतन कठायत, सदस्यमा नारायण अर्याल र अजय वीर पाण्डे, क्रिकेट समितिको उपसंयोजकमा दिवाकर घले, सदस्यमा पदम खड्का, करण महत्रा र विनय राजभण्डारी रहेका छन्।
यस्तै छनोट समितिमा बासुदेव जोशी रहेका छन्। एन्टी करप्सन युनिटमा मिलन बस्नेत, कुवेत चन्द र रितेस सिंहलाई मनोनयन गरिएको छ। महिला समितिको उपसंयोजकमा प्रदीप मजगैया, सदस्यमा निरा राजोपाध्याय, जिना श्रेष्ठ र अनिल शर्मालाई जिम्मेवारी दिइएको छ।
यस्ता छन् निर्णय