आइपिएल २०२१ अन्तर्गत सनराइजर्स हैदरावादविरुद्ध कोलकता नाइटराइडर्सका लागि पहिलो ओभर अनुभवी स्पिनर हरभजन सिंहले गरेका थिए।
उनी करिब दुई वर्षपछि अर्थात् ६९९ दिनपछि क्रिकेट मैदान फर्किएका थिए। दुई वर्षपछि मैदान फर्किदा हरभजनको बलिङ उस्तै थियो।
उनको पहिलो दुई बलमा हैदरावादका ओपनर ऋद्धिमान साहले रन जोडेनन्। तेस्रो बलमा उनले एक रन लिए।
हरभजनको चौथो बलको सामना हैदरावादका डेभिड वार्नरले गरेका थिए। जुन बललाई वार्नरले भेउ पाउन सकेनन्। उनको प्रहार प्वाइन्टको दिशामा गएको थियो। तर पाट कमिङ्ग्सले क्याच मिस गरे।
पाँचौ बलमा साहले कुनै रन लिएनन्। छैटौं बलमा छक्का प्रहार गरे।
पहिलो ओभरमा ८ रन खर्चिएका हरभजनलाई कोलकताका कप्तान इयान मोर्गान त्यसपछि बलिङको मौका दिएनन्।
हरभजनलाई एक ओभर मात्र बलिङ गर्न दिएपछि सोसल मिडियामा विभिन्न टिप्पणी भइरहेका छन्।
कोलकताले १० रनले जितेको खेलपछि कप्तान मोर्गानले भने हरभजनको तारिफ गरे।
'भज्जीले पहिलो ओभर उत्कृष्ट गरे। त्यसपछि उनले बलिङ गरेनन्। तर उनको अनुभवले दोस्रो बलरलाई निकै नै फाइदा पुग्यो,' मोर्गानले भने।
हरभजनबाहेक कोलकतामा स्पिनरहरू सकिब अल हसन र बरुण चक्रबर्ती थिए। दुवैले चार चार ओभर बलिङ गर्दा प्रतिओभर ८ रन भन्दा बढी खर्चिए।
यीबाहेक तीव्र गतिका बलर प्रसिद्ध कृष्णा, पाट कमिङ्ग्स र आन्द्रे रसेलले बलिङ गर्दा हरभजनले मौका पाएनन्।
हरभजनले सन् २०१९ को आइपिएलको फाइनल खेलेपछि खेलेका थिएनन्। त्यतिबेला उनले चेन्नई सुपरकिंग्सबाट मुम्बई इन्डियन्सबिरुद्ध खेलेका थिए।
२०२० मा व्यक्तिगत कारणले उनले आइपिएल खेलेका थिएनन्। यो सिजन कोलकताले ४० वर्षीय हरभजनलाई दुई करोडको न्यूनतम मूल्यमा आबद्ध गरेको हो।
आइतबार हरभजनको आइपिएलको १६१ औं खेल थियो। भारतका लागि टेस्टमा ४१७ विकेट लिएका उनले एकदिवसीयमा २६९ विकेट हात पारेका थिए। उनले आइपिएलमा १५० विकेट पूरा गरिसकेका छन्।