नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच नेपाल यू-१९ क्रिकेट टिमलाई प्रायोजन गर्न सम्झौता भएको छ।
चौधरी ग्रुपको वायवाई चाउचाउले नेपाली यू-१९ क्रिकेट टिमलाई पाँच वर्षको प्रायोजन गर्ने सम्झौता भएको हो।
यसअघि पनि वाइवाईले यू-१९ टिमलाई एक दशकसम्म प्रायोजन गरेको थियो।
चार वर्षदेखि भने प्रायोजन हुन सकेको थिएन।
चार वर्षपछि प्रायोजन गरेको वाइवाईले अब पहिलो वर्ष ७० लाख रुपैयाँ प्रदान गर्नेछ। प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले सम्झौता रकम बढ्नेछ।
यो प्रायोजनबाट राष्ट्रिय यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गरिनेछ। यस्तै यू-१९ को अन्तर्राष्ट्रिय सहभागिताका लागि प्रायोजन रकमबाट खर्च गरिनेछ।
क्यानले निकट भविष्यमा यू-१९ प्रतियोगिता गर्ने तयारी गरेको छ। यो विषयमा शुक्रबार बसेको क्यानको बोर्ड बैठकमा छलफल भएको थियो।