गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्योलमा छ।
सरकार गठन भएलगत्तै करिव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बर्ष दिन भए पनि हालसम्म टेण्डर प्रकिया कहिले अघि बढ्ने भन्ने नै यकिन भएको छैन।
रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा संघ सरकारबाट प्राप्त भइसकेको छ।
१८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एकदिवसिय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न सात वटा पीच तयार पारिने डिपिआरमा उल्लेख छ। मैदानमा सात वटा पिच, भिभिआइपी, भिआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाइएको छ।
सो क्रिक्रेट रंगशाला पोखराको मुख्य बजार देखि १० किलोमिटरको दूरीमा पर्छ।
पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने मैदानको अभाव छ।
प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ।
यद्यपी हालसम्म काम सुरु नहुँदा योजना सम्पन्न हुनेमा नै आशंकाहरु उब्जिएका छन्। तर प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाका लागि दुई करोड रकम समेत विनियोजन गरिसकेका कारण केही समयमा नै टेन्डरमा जाने क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाई छ।
रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र सोको संरक्षणका लागि छुट्टै डिपिआर आवश्यक पर्ने देखिए पछि रंगशाला निर्माण कार्य नै रोकिएको छ।
आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा सरकारले रंगशाला निर्माण शहरी विकास तथा भवन शाखा मार्फत बनाउन अर्थ मन्त्रालयलाई सहमतिका लागि पहल भैइरहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखाका सचिव विनोद बहादुर कुँवरले बताए।
भिडिओ :