नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजन इनोभेटिभ टेक्नोलोजीको 'माइ सेकेन्ड टिचर' ले गर्ने भएको छ।
मार्च २२, २०२२ सम्म नेपाली राष्ट्रिय पुरुष टिमले लगाउने जर्सीमा अब 'माइ सेकेन्ड टिचर' अंकित हुनेछ। 'माइ सेकेन्ड टिचर' स्कुलहरूले इन्टरनेटमार्फत प्रयोग गर्ने पाठशाला हो।
जर्सीमा 'माइ सेकेन्ड टिचर' सँगै आइएनजी ग्रुप र इसलिङटन कलेजको पनि लोगो राखिनेछ।
यसअघि नेपाली राष्ट्रिय टिमको जर्सीको प्रायोजन अधिकार विज्ञापन एजेन्सी एडप्याडले पाएको थियो। एडप्याडले सो प्रायोजनअन्तर्गत इनोभेटिभ टेक्नोलोजीकोलाई भित्र्याएको हो।
आइएनजी ग्रुपअन्तर्गत रहेको इनोभेटिभ र इसलिङटन कलेजबाहेकको जर्सीमा राखिने अन्य प्रायोजन एडप्याडले अरु कम्पनीलाई पनि बेच्न सक्नेछ।
क्यानले एडप्याडलाई प्रायोजन अधिकार बेचेको रकम अहिलेसम्म खुलाएको छैन। एडप्याडले पनि इनोभेटिभ टेक्नोलोजीकोसँग गरेको सम्झौता रकम सार्वजनिक गरेको छैन।
क्यानका स्रोतका अनुसार एडप्याडलाई १५ महिनाका लागि ५६ लाख रुपैयाँमा जर्सी प्रायोजनको अधिकार दिइएको हो। जसमा एडप्याडले आफूले सकेजति प्रायोजक खोजेर नाफा कमाउन सक्नेछ।