आइपिएल २०२१ को चौथो खेलमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनले उत्कृष्ट ब्याटिङ गरे।
मुम्बईमा सोमबार राति भएको खेलमा सामसनले पञ्जाब किंग्सविरुद्धको खेलमा ११९ रन बनाए।
सामसानको यो आइपिएलमा कप्तानको रूपमा पहिलो खेल थियो। कप्तानको रुपमा डेब्यू गरेको खेलमा शतक बनाउँदै उनले रेकर्ड बनाए। यसअघि आइपिएलमा कप्तानको रुपमा डेब्यू खेलमा कुनै पनि खेलाडी शतक हिर्काएका थिएनन्।
सामसनले शतक बनाउने क्रममा ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। यो उनको आइपिएल करिअरमा तेस्रो शतक हो।
यसअघि उनले २०१७ मा पुनेविरुद्ध तथा २०१९ मा हैदरावादविरुद्ध शतक हिर्काएका थिए।
आइपिएल इतिहासमा सर्वाधिक शतक प्रहार गर्ने भारतीय खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन्। विराट कोहली आइपिएलमा सर्वाधिक पाँच शतक हिर्काउने भारतीय खेलाडी हुन्।
सामसनले शतक हिर्काए पनि खेलमा राजस्थान ४ रनले पराजित भयो।
पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतिमा २२१ रन प्रहार गरे। जवाफी ब्याटिङ गरेको राजस्थानले ७ विकेटको क्षतिमा २१७ रन मात्र जोड्न सक्यो।