आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई १० रनले हराएको छ।
मंगलबार राति भएको खेलमा मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन मात्र जोड्न सक्यो।
कोलकताका ओपनरद्वय नितिन रानाले ५७ रन र शुभमान गिलले ३३ रनको योगदान दिए। अन्य कोही ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सफल भएनन्।
कोलकतालाई सस्तोमा रोक्ने क्रममा मुम्बईका राहुल चाहरले ४ विकेट लिए। ट्रेन्ट बोल्टको नाममा २ विकेट र क्रुनाल पाण्डेको नाममा १ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बई २० ओभरमा १५२ रनमा अलआउट भयो। उसका लागि सूर्यकुमार यादवले ५६ रन र ओपनर रोहित शर्माले ४३ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा कोलकताका आन्द्रे रसेलले ५ विकेट लिए। उनले २ ओभरमा १५ रन मात्र खर्चिएका थिए। पाट कमिङ्ग्सले २ विकेट हात पारे।