दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी-२० खेलमा पाकिस्तानले ९ विकेटको सानदार जित हात पारेको छ।
बुधबार सेन्चुरियनलमा भएको खेलमा जित हात पारेसँगै पाकिस्तानले घरेलु टिमसँग चार खेलको सिरिजमा २-१ को अग्रता लिएको छ।
दक्षिण अफ्रिकाले दिएको २०४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा १ विकेट गुमाएर पार गर्यो।
पाकिस्तानको जितमा कप्तान बाबर अजामले शतक हिर्काए। उनले १२२ रनको योगदान दिए। बाबरले ५९ बलमा १५ चौका र ४ छक्का हिर्काए।
बाबरको यो पहिलो टी-२० शतक हो। उनका ओपनिङ पार्टनर मोहमद रिजावनले नटआउट ७३ रन जोडेपछि पाकिस्तानले विशाल लक्ष्य सहज रुपमा पार गरेको हो।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २०३ रन जोड्यो। दक्षिण अफ्रिकाका लागि जनेमन मालनले ५५ रन र एइडेन मक्रमले ६३ रनको योगदान दिए।