आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
बुधबार चेन्नईमा भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बेंग्लोरले लगातार दोस्रो जित निकालेको हो।
बेंग्लोरले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको हैदारावादले ९ विकेटको क्षतिमा १४३ रन मात्र जोड्यो।
उसका लागि कप्तान डेभिड वार्नरले ३७ बलमा १ छक्का र ७ चौकाको मद्दतमा ५४ रन जोडे।
यस्तै मनिष पाण्डेले ३८ रन जोडे भने जोनी वायर्स्टो १२ रनमा आउट भए।
ओपनर ऋद्धिमान साह १ रनमै आउट भएका थिए।
बलिङमा बेंग्लोरका साहबाज अहमदले ३ विकेट लिए भने मोहमद सिराज र हर्षल पटेलले २-२ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनायो ।
उसका लागि ग्लेन म्याक्सेवलले सर्वाधिक ५९ रन बनाए। उनले ४१ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गरेका थिए।
त्यस्तै, कप्तान विराट कोहलीले ३३, साहबाज अहमदले १४, देवदत्त पाडिक्कलले ११ र केल जेमिसनले १२ रनको योगदान दिए।
बलिङमा हैदारावादका जासन होल्डरले तीन विकेट लिँदा राशिद खानले किफायती बलिङ गरे। उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर १८ मात्र रन खर्चिए। त्यस्तै, भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले समान एक/एक विकेट लिए ।
यसअघि जारी सिरिजनको पहिलो खेलमाबेंग्लोरले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको थियो।
हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो ।