चोटका कारण त्रिदेशीय कप टी-२० क्रिकेट सिरिज गुमाएका अलराउन्डर पारस खड्काको स्थानमा सन्दीप जोरालाई राष्ट्रिय टिममा राखिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले चोटले सिरिज गुमाएका पारसको स्थानमा सन्दीपलाई शुक्रबार राखेको जनाएको हो।
यसअघि पारसले शुक्रबार नै दायाँ काँधमा चोट लागेको भन्दै राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिएका थिए।
टी-२० सिरिज शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुँदैछ।
सिरिजको पहिलो खेलमा शनिबार नेपालले नेदरल्यान्ड्सँग खेल्नेछ।
यस्तै, दोस्रो खेल मलेसियासँग वैशाख ६ मा हुनेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ।
नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल मलेसिया वैशाख ९ गते खेल्ने भएको छ। लिगमा शीर्ष दुईमा स्थान बनाउन सकेको खण्डमा नेपालले वैशाख ११ गते फाइनल खेल्नेछ।
आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा तय भएको प्रतियोगिता स्थगित भए पनि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर सिरिज गर्न लागेको हो।
नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। नेपालले पछिल्लो पटक २०२० को मार्चमा थाइल्यान्डमा एसिसी इस्टर्न रिजन प्रतियोगिता खेलेको थियो।
क्यानले त्रिदेशी कप हेर्नका लागि त्रिवि मैदानमा प्रवेश मूल्य १ सय ५० रुपैयाँ तोकेको छ।
त्रिकोणात्मक टी–२० सिरिजका लागि नेदरल्यान्ड्स र मलेसियाको क्रिकेट टिम गत मंगलबार नेपाल आइपुगेका थिए।
सिरिजका सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र अनलाइन माध्यमबाट विश्वका १ सय ४१ देशबाट लाइभ हेर्न सकिने क्यानले जनाएको छ।