काठमाडौंमा आजदेखि त्रिकोणात्मक क्रिकेट सिरिज सुरु हुँदैछ। नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज आजदेखि सुरू हुन लागेको हो ।
सिरिजको उद्घाटन खेलअन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड भिड्दैछन्। आयोजक नेपाल र नेदरल्यान्डबीचको खेल दिउँसो १:१५ बजेबाट सुरु हुनेछ ।
नेपालले लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले अन्तिम पटक ४ मार्च २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।
कोरोना महामारीका कारण नेपालले यो बीचमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएन।
घरेलु मैदानमा हुने यो सिरिजमा नेपाली खेलाडीलाई राम्रो क्रिकेट खेल्ने मौका छ । चोटका कारण टिमका महत्वपूर्ण सदस्य पारस खड्काले सिरिज गुमाउने भएपछि नेपाली टिम केही कमजोर देखिएको छ ।
पारसको स्थानमा टिममा सन्दीप जोरालाई समावेश गरिएको छ । पछिल्लाा चार खेलमा दुवै टिमले दुईरदुई म्याच जितेका छन् ।
यद्यपी सिरिजको उद्घाटन खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । नेदरल्यान्ड पिटर सिलारको कप्तानीमा मैदान उत्रने छ । बलियो टिम नेदरल्यान्ड नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
नेपालले डेभ वाटमोरको प्रशिक्षणमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो।
नेपालको सम्भावित प्लेइङ-११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी (विकेटकीपर), आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र सुशन भारी ।
एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल२०७६ को फागुनमा नेपाली राष्ट्रिय क्रिकेट टिम एसिसी पूर्व क्षेत्रीय टी-२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्यान्ड गएको थियो। त्यतिबेला नेपाली टिम कोरोना भाइरसको जोखिम मोलेरै थाइल्यान्ड पुगेको थियो।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले कोरोनाले प्रतियोगितालाई कुनै असर नगर्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई थाइल्यान्ड पठाएको थियो।
प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरले भाग लिएका थिए। प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो। दोस्रो खेलमा पनि नेपालले राम्रो खेल्न सकेन। दोस्रो खेलमा नेपालले हङकङलाई ४३ रनले नतिजा सुम्पेको थियो।
मार्च ४, २०२० मा भएको तेस्रो खेलमा भने नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले हरायो। मार्च ६ तय सिंगापुरविरुद्धको खेल वर्षका कारण हुन सकेन।
नेपाली टिम थाइल्यान्डबाट फर्किएपछि कोरोना भाइरसको संक्रमण संसारभर फैलिएको थियो। जसका कारण नेपालले खेल्ने तय भएको आइसिसी विश्वकप लिग-२ सहितका अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भए।
अन्तर्राष्ट्रिय प्रतियोगिता लगातार स्थगित भइरहदा क्यानले मलेसिया र नेदरल्यान्ड्सलाई बोलाएर त्रिदेशीय टी-२० सिरिज आयोजना गर्दैछ। शनिबारदेखि सुरू हुने यो प्रतियोगितामार्फत नेपाली क्रिकेट टिम १३ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कदैछ।
शनिबार नेपालले कीर्तिपुरस्थित त्रिवि मैदान नेदरल्यान्डविरुद्ध खेल्दा सो खेल मार्च ४, २०२० मा थाइल्यान्डसँग खेलेपछिको पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ।
एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउदा नेपाली टिम उत्साहित छ। कप्तान ज्ञानेन्द्र मल्लले नेपाली टिमले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने आसा व्यक्त गरेका छन्। साथै कपको उपाधि उचाल्नका लागि प्रतिस्पर्धा गर्ने कप्तान ज्ञानेन्द्रको भनाइ छ।
त्रिवि मैदान कीर्तिपुरमा हुने खेल कोरोनाको त्रासबाट मुक्त भने छैन। कोरोनाका कारण क्यानले तीन वटै देशका टिमलाई स्वास्थ्य प्रोटोकलअनुसार राखेको छ।
क्यानले त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकका लागि सीमित टिकट बिक्रि गर्ने जनाएको छ। तर क्यानले अहिलेसम्म कति संख्यामा टिकट बिक्रि गर्ने स्पष्ट पारेको छैन।
नेपालका लागि यो पहिलो घरेलु टी-२० सिरिज हुनेछ। सन् २०१४ देखि टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न थालेको नेपालले घरेलु मैदानमा भने प्रतिस्पर्धा गर्ने अवसर पाएको थिएन।
प्रतियोगिताको आयोजक क्यान भए पनि व्यवस्थापनको जिम्मा जोरा स्पोर्टस म्यानेजमेन्ट पाएको छ। क्यानले १५ लाख रुपैयाँ लिएर जोरालाई व्यवस्थापनको जिम्मा दिएको हो।
अलराउन्डर पारस खड्काले चोटका कारण सिरिज गुमाउँदैछन्। दायाँ काँधमा चोट लागेपछि पारसले सिरिज गुमाउने भएका हुन्। यसअघि टिममा परेका पारसको स्थानमा अब क्यानले अर्का खेलाडीलाई बोलाउनेछ।
खेल तालिका
वैशाख ४ नेपाल भर्सेस नेदरल्यान्ड्स दिउँस १:१५ बजे
वैशाख ५ नेदरल्यान्ड्स भर्सेस मलेसिया मध्यान्ह १२ :१५ बजे
वैशाख ६ नेपाल भर्सेस मलेसिया दिउँस १:१५ बजे
वैशाख ७ नेपाल भर्सेस नेदरल्यान्ड्स दिउँस १:१५ बजे
वैशाख ८ नेदरल्यान्ड्स भर्सेस मलेसिया मध्यान्ह १२ :१५ बजे
वैशाख ९ नेपाल मर्सेस मलेसिया दिउँस १:१५ बजे
वैशाख १० रेस्ट डे
वैशाख ११ फाइनल दिउँसो १:१५ बजे
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भूर्तेल, कुशल मल्ल, साहब आलम, कमलसिंह ऐरी, सुसन भारी