राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा १०९ रन बनाउँदै अलआउट भयो।
मलेसियाका लागि ओपनर सायेद अजिजले सबैभन्दा बढी २७ रनको योगदान गरे। शफिक शारिफले १५ रन जोडे भने शर्भिन मुनिन्डेले २० रन बटुले।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ३ ओभरमा १७ रन दिए। सन्दीप लामिछानेले २ विकेट हात पारे।
सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सहाब अलाम र कुशल मल्लले १-१ विकेट लिए।
दोस्रो ओभरको चौथो बलमा करण केसीले ओपनर अनवार अरुद्दीनलाई विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए। अनवार सट खेल्नेक्रममा एज लागेपछि आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए ।
चौथो ओभरको दोस्रो बलमा कप्तान अहमद फाइज ३ रनमा रन आउट हुन पुगेपछि नेपालले दोस्रो सफलता हात पारेको हो। दोस्रो रन लिनेक्रममा अजिज सायदसँग तालमेल गर्न नसक्दा विनोद भण्डारीको थ्रो मा करण केसीले रन आउट गराएका थिए।
यस्तै सातौ ओभरको अन्तिम बलमा युवा ब्याट्सम्यान विरानदीपसिंहलाई सोमपाल कामीले ६ बलमा बोल्ड आउट गरे। विरानदीपले ११ बलमा १ चौका प्रहार गरेका थिए।
आठौं ओभरको पाँचौं बलमा पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले ओपनर सायद अजिजलाई आसिफ शेखबाट २७ रनमा क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए।
२४ बल खेलेका अजिजले ४ चौका र १ छक्का प्रहार गरेका थिए। दीपेन्द्रको यो पहिलो टि२० आई विकेट समेत हो।
यस्तै ११ औं ओभरको दोस्रो बलमा सन्दिप लामिछानेले नेपाललाई पाँचौ सफलता दिलाए। उनले १३ बलमा १५ रन बनाएर खेलिरहेका शाफिक शारिफलाई बोल्ड गरे।
यस्तै १२औं ओभरको अन्तिम बलमा शाहब आलमले नेपाललाई छैठौं सफला दिलाए। उनले ७ बलमा ५ रन बनाएर खेलिरहेका आमिनुद्धिन राम्लीलाई अभिनास बोहोराको हातबाट क्याच आउट गराए।
नेपाललाई सातौं सफलता कुशल मल्लले दिलाए। उनले १५ औं ओभरको दोस्रो बलमा खिजार हायातलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराए। हायातले १० बल खेलेर ४ रन बनाए।
यस्तै नेपाललाई आठौं र नवौं सफलता करन केसीले एकै ओभरमा दिलाए। उनले १५ औं ओभरको पहिलो बलमा ८ रन बनाएर खेलिरहेका स्याज्रुल इद्रुस र तेस्रो बलमा शार्भिन मुनेन्डेलाई आउट गरे। मुनेन्डे १५ बलमा २० रन बनाएर खेलिरहेका थिए।
यस्तै सन्दिप लामिछानेले नेपाललाई १० औं सफलता दिलाए। १६ औं ओभरको पाँचौ बलमा अनवार रहमानलाई लामिछानेले एलबिडब्लुको धरापमा पारे। यो सन्दिपको व्यक्तिगत दोस्रो विकेट हो।