राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेको छ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको हो।
मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक पुरा गरे। भुर्तेलले ४१ बल खेल्दै ६१ रनमा अभिजित रहे। भुर्तेलले ५ छक्का र ३ चौका प्रहार गरे।
अर्का ओपनर आसिफ शेख अर्धसतक बनाउन ८ रनले चुके। उनी १२ औं ओभरको पहिलो बलमा क्याच आउट भए। उनले २९ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ४२ रन बनाए।
पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो।
कुशलले नेदरल्यान्ड्सँग पहिलो खेलमा ६२ रन जोडेका थिए। आसिफ ५४ रनमा अविजित रहेका थिए। यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
दीपेन्द्र सिंह ऐरीले ३ बलमा ६ रन बनाउँदै नेपाललाई सहज जित दिलाए।
मलेसियाका लागि विरेन्दिप सिंहले १ विकेट लिए।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो।
मलेसियाका लागि ओपनर सायेद अजिजले सबैभन्दा बढी २७ रनको योगदान गरे। शफिक शारिफले १५ रन जोडे भने शर्भिन मुनिन्डेले २० रन बटुले।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ३ ओभरमा १७ रन दिए। सन्दीप लामिछानेले २ विकेट हात पारे।
सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सहाब अलाम र कुशल मल्लले १-१ विकेट लिए।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदल्यान्ङ्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो।