नेपाली युवा खेलाडी कुशल भुर्तेलले लगातार तेस्रो अन्तर्राष्ट्रिय अर्धसतक पूरा गरेका छन्। राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्डविरूद्धको खेलमा पनि भुर्तेलले अर्धसतक हानेका हुन्।
उनले आजको खेलमा ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रन हानेर अर्धसतक पूरा गरेका हुन्।
यसअघि नेदरल्याण्ड्सविरुद्धकै खेलमा टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले सोही खेलमा पनि अर्धशतक बनाएका थिए।
सोमबार मलेसियाविरूद्ध पनि उनले अर्धसतक बनाएका थिए।
कुशल नेपालबाट सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। त्यस्तै नेपालबाट टी-२० मा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।
झण्डै क्रिकेट छाडेका कुशलको राष्ट्रिय टिममा जबरजस्त 'इन्ट्री'
नेपाली राष्ट्रिय क्रिकेट टिममा ओपनिङ ब्याट्सम्यान परिवर्तन हुनु नौलो होइन। खराब ओपनिङको समस्या समाधान हुन नसक्दा नेपालले ओपनिङ ब्याटिङमा विभिन्न प्रयोग गर्दै आइरहेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा पनि नेपालले नयाँ ओपनिङ जोडीलाई मौका दियो। शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशल भुर्तेल र आसिफ शेखले पहिलो पटक राष्ट्रिय टिमबाट ओपनिङ गरे। सो खेल दुवैका लागि डेब्यू भएकाले ओपनिङ राम्रो हुनेमा कतिपयको शंका थियो।
तर दुवैले उत्कृष्ट खेल्दै राष्ट्रिय टिममा शानदार 'इन्ट्री' गरे। खेलमा कुशलले ६२ रन जोड्दा आसिफले नटआउट ५४ रन जोडे। दुवै खेलाडीले डेब्यूमै अर्धशतक प्रहार गरेको खेलमा नेपालले ९ विकेटको जित हात पार्यो।
सोमबार मलेसियाविरुद्धको खेलमा पनि दुवै ओपनरको प्रदर्शन उत्कृष्ट रह्यो। कुशलले नटआउट ६२ रन जोड्दा आसिफ ४२ रनमा आउट भए। दुवैको उत्कृष्ट प्रदर्शनमा फेरि नेपाल ९ विकेटले नै विजयी भयो।
मलेसियाविरुद्धको अर्धशतकसँगै २४ वर्षीय कुशल नेपालका लागि टी-२० मा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने। अघिल्लो खेलमा उनले डेब्यूमा नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए।
दुवै ओपनरको प्रदर्शनलाई नेपालका प्रशिक्षक डेभ वाटमोरले उत्कृष्ट भनेका छन्।
'यो ओपनिङ जोडीको प्रदर्शन एकदमै राम्रो छ। यसले दुवैको आत्मविश्वास बढाएको छ,' मलेसियाविरुद्धको खेलपछि वाटमोरले भने, 'जाउ अनि खेल भनेको थिए। किनकी उनीहरुलाई आफैमाथि विश्वास हुन जरूरी छ।'
लगातार दुई अर्धशतक हिर्काएका कुशल आफ्नो प्रदर्शनलाई लामो समयदेखि गरेको परिश्रमको फल ठान्छन्।
'अस्ती डेब्यू भए पनि त्यस्तो दबाब केहि पनि थिएन,' उनले आफ्नो प्रदर्शनबारे भने, 'यसैका लागि मैले धेरै नै परिश्रम गरेको थिए। मेरो लागि यो अवसर थियो। यसलाई मिस नगर्ने भन्ने योजना बनाएर खेलेँ।'
त्रिवि मैदानमा कुशलले नेदरल्यान्ड्सविरुद्ध ४६ बल खेल्दा ५ चौका र ५ छक्का हिर्काएका थिए भने मलेसियाविरुद्ध ४१ बलमा ३ चौका र ५ छक्का हिर्काए। उनका कतिपय सर्ट लोभलाग्दा थिए।
'अभ्यासमा सिकेको स्किल मैदानमा खेल्दा ट्राइ गर्छु,' उनले भने।
कुशलले दुई वर्षअघि नेपालको एकदिवसीय टिममा डेब्यू गरेका थिए। उनी सन् २०१९ मा बंगालदेशमा भएको एसिसी इमर्जिङ टिम्स कपका लागि राष्ट्रिय टिममा परेका थिए।
त्यतिबेला उनले भारतको यू-२३ टिमबिरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। सो खेलमा उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गरेका थिए। ज्ञानेन्द्र शून्यमा आउट भए पनि उनले २८ रन जोडेका थिए।
त्यहीँ बेलादेखि उनले घरेलु प्रतियोगितामा पनि ओपनिङ गर्न थालेका थिए। जहाँ उनी रमाइरहेका छन्।
'ओपनिङ गर्दा गाह्रो लाग्दैन। यसैमा अभ्यस्त भइसकेको छु,' उनले भने।
कुशलले सन् २०१२ देखि क्रिकेट खेल्न थालेका हुन्। बुबा दीपक भुर्तेलका अनुसार आठ कक्षा पढ्दा कुशलले स्कुल प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए।
'स्कुलस्तरीय प्रतियोगितामा उसले खेलेको मैले पनि हेरेको थिएँ। त्यसपछि उसले आफू क्रिकेटर बन्ने इच्छा देखाएपछि मैले सबै किसिमले सुविधा दिने कोसिस गरेँ' बुबा दीपकले सेतोपाटीसँग भने।
स्कुल क्रिकेट खेल्न थालेको एक वर्षपछि उनी नेपालको यु-१६ राष्ट्रिय टिममा परे। मलेसियामा आयोजना भएको यु-१६ एसिसी एलिट कप खेल्न मलेसिया गए। कतारविरुद्धको पहिलो खेलमा ३५ रन बनाए। मलेसियाविरुद्धको दोस्रो खेलको वार्मअपका दौरान उनी घाइते भए। बाउन्ड्रीमा अल्झिएर लाडेका उनको दाहिने हात भाँच्चियो। जसका कारण प्रतियोगिताका बाँकी खेल गुमाए।
सन् २०१६ मा उनले नेपाली यु-१९ टिमबाट विश्वकप खेले। बंगलादेशमा भएको यु-१९ विश्वकपमा उनको प्रदर्शन सोचे जस्तो हुन सकेन। त्यतिबेला उनी मध्यक्रममा ब्याटिङ गर्थे। त्यहाँ उनी फिट हुन सकेनन्।
बंगलादेशबाट फर्किएपछि उनी नेपाल पुलिस क्लबमा आबद्ध भए। पुलिस क्लबसँगै फ्रेञ्चाइज क्रिकेटका टिमबाट खेले।
तर उनको ब्याटिङ पोजिसन एकनासको हुन सकेन। कहिले ओपनिङमा त कहिले मध्यक्रमबाट ब्याटिङ पर्ने जिम्मेवारी पूरा गरे।
तर पनि उनले मिहिनेत गर्न भने कहिल्यै छाडेनन्। फ्रेञ्चाइज क्रिकेटका कतिपय टिममा सँगै खेलेका क्रिकेटर शरद भेषवाकार कुशललाई फिट खेलाडीको संज्ञा दिन्छन्।
'उनी एकदमै फिट र अनुशासित खेलाडी हुन्। हरेक दिन जिम जाने उनको बाँनी छ,' नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टेलिभिजन कमेन्ट्रीका क्रममा भेषवाकारले भने,'उनी टिममा भिज्ने, हाँस्ने र साथीहरूसँग रमाइलो गरिरहन्छन्।'
यु-१९ टिमपछि राष्ट्रिय टिममा पर्न उनलाई निकै संघर्ष गर्नु पर्यो। दुई वर्षअघिको इमर्जिङ कपमा राष्ट्रिय टिममा पर्नुबाहेका अन्य बेला उनी अन्तिम टिममा पर्न असफल भइरहे।
कडा मिहिनेत र लगाव हुँदा पनि राष्ट्रिय टिममा पर्न असफल कहिलेकाँही निराश बने।
'राष्ट्रिय टिममा नपरेपछि क्रिकेट नै छाड्छु भनेर साथीहरूसँग कुरा गर्दो रहेछ,' उनका बुबा दीपकले भने,'यो थाहा पाएपछि हिम्मत हार्नु हुन्न भनेर सम्झाएँ। जे कुरा पनि समय आएपछि प्राप्त हुन्छ भनेर बुझाएँ।'
सायद कुशलका लागि अहिले नै उत्तम समय थियो, जसका कारण उनले राष्ट्रिय टिममा जबरजस्त इन्ट्री गर्न सफल भए।