नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछाने शीर्ष स्थानमा उक्लिएका छन्।
मंगलबार त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा ४ विकेट लिएसँगै सन्दीप नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पुगेका हुन्।
सन्दीपले टी-२० मा आफ्नो विकेट संख्या ४२ पुर्याएका छन्।
मंगलबार सन्दीपको बलिङ भने महँगो सावित भयो। उनले चार ओभरमा ४८ रन खर्चिएका थिए। खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भयो।
नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल खेल्न बाँकी छँदा ७ विकेटको क्षतिमा पार गर्यो।
सन्दीपले करण केसीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन्। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका करणले नेपालका लागि ४१ विकेट लिएका छन्।
करणले ३१ टी-२० खेल खेल्दा सन्दीपले २३ टी-२० खेल खेलेका छन्।
करणले सन् २०१५ र सन्दीपले सन् २०१८ मा टी-२० मा डेब्यू गरेका थिए।
नेपालका लागि टी-२० मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा सोमपाल कामी छन्। सोमपालले ३१ खेलमा २८ विकेट लिएका छन्। चौथो स्थानमा बसन्त रेग्मी छन्। बसन्तले १८ खेलमा २५ विकेट हात पारेका छन्।