त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भयो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई मंगलबार नेदरल्याण्ड्सले ३ विकेटले पराजित गर्यो।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २०६ रन जोड्न सक्यो। नेपालका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे।
२ सय रन कटाए पनि नेपालले जित निकाल्न भने सकेन। नेदरल्याण्ड्सले ३ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
खेलपछि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले राम्रो ब्याटिङ गरे पनि फिल्डिङ र बलिङमा कमजोरी रहेको बताए।
ज्ञानेन्द्रले खेलपछि दिएको प्रतिक्रिया यस्तो छ :-
सुरूमा हामीले खेललाई सजिलो गरी लिएको जस्तो लाग्यो। नेदरल्याण्ड्सले जसरी ब्याटिङ गर्यो, ब्याट्सम्यानलाई पनि श्रेय जान्छ। हामीले पनि दुई चार ओभर ६ रन भन्दा कम दिन सकेको भए राम्रो हुन्थ्यो।
खेलमा 'सायद' भन्ने सधैं हुन्छ। मिसफिल्ड भन्ने कुरा बाउन्सले गर्दा फरक पार्छ। रन रोक्न सकिन्थ्यो होला अथवा सकिँदैन थियो होला।
ब्याटिङ हामीले सोचेको जस्तो भइरहेको छ। विकेट पनि राम्रो छ। सबैले सकारात्मक तरिकाले ब्याटिङ गरिरहेका छन्। विकेट राम्रो भएकाले अहिले ब्याटमा बल मजाले आइरहेको छ। त्यसैले खुलेर खेलिरहेका छन्।
कुशल भुर्तेलले एकदमै राम्रो खेल्यो। उसले अझ बढि स्कोर गर्न सक्थ्यो होला। तर पनि म खुसी छु। उसले हामीलाई राम्रो सुरुवात दिलायो। जसले गर्दा हामीलाई लय समातेर अघि बढ्न सजिलो भयो। उसले रेकर्ड पनि बनाएको छ। यसलाई निरन्तरता दिन सकुन्।
हामीले ८-१० रन तान्न सकेको भए राम्रो हुन्थ्यो। बीचमा कुशल मल्ल र करण केसी चाडै आउट भए। त्यसले फरक पर्यो जस्तो लाग्छ।
सन्दीप अनुभवी बलर हो। उसलाई विकेट निस्किन्छ कि भनेर १८ ओभरमा बलिङ गराएको हो। उनीहरूले मिडियम पेस राम्रो खेलिरहेका थिए। विकेट पनि राम्रै थियो। उसले विकेट लिन्छ कि भन्ने थियो। एउटा जुवा जस्तै भयो।
दर्शकबिना खेल्दा अलिकति न्यास्रो त लाग्दो रहेछ। अन्तर्राष्ट्रिय खेलमा जहिले पनि भरी मैदानमा खेलेको, दर्शक नहुँदा खल्लो खल्लो लाग्दो रहेछ।