नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी-२० ब्याट्सम्यानको वरीयतामा समावेश भएका छन्।
गत शनिबार टी-२० मा डेब्यू गरेका कुशल वरीयताको ९३औं स्थानमा छन्।
ब्याट्सम्यानको वरीयतामा नेपाली टिमका अलराउन्डर पारस खड्का ८२औं स्थानमा छन्।
शीर्ष स्थानमा इंग्ल्यान्डका डेविड मलान छन्।
काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन अर्धशतक प्रहार गरेसँगै कुशल आइसिसीको वरीयतामा परेका हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दा उनले ६२ रन बनाएका थिए। सोमबार मलेसियाविरुद्ध नटआउट ६१ रन बनाएका उनले मंगलबार नेदरल्यान्ड्सविरुद्ध फेरि ६२ रन जोडेका थिए।
नेपाली राष्ट्रिय टिमका लागि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी हुन्। उनले डेब्यूपछि तीन खेलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान समेत बनाए।
टी-२० वरीयतामा रहेका पारसले भने घाइते भएका कारण त्रिकोणात्मक सिरिज गुमाएका थिए।