त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज हुने नेपाल र मलेसियाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेको मलेसियाले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो। सिरिजको समूह चरणको अन्तिम खेलको रूपमा रहेको यो खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
नेपालले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले साहब आमल र अविनाश बोहरालाई विश्राम दिँदै कमलसिंह ऐरी र सुशान भारीलाई मौका दिएको छ ।
कमलको यो डेब्यू म्याच हो ।
नेपाल र नेदरल्यान्ड्स यसअघि नै सिरिजको फाइनलमा पुगिसकेकाले खेल प्रतिष्ठाको लडाइँको रुपमा रहेको छ।
त्रिकोणात्मक टी-२० सिरिजमा बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको थियो। जसका कारण नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगेका थिए।
समूह चरणका सबै चार खेल खेलेको नेदरल्यान्ड्सको ५ अंक भएको छ भने अन्तिम खेलअघि नेपालको ४ अंक छ। मलेसियाले १ अंक मात्र जोडेको छ।
उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।
यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेट र दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाललाई नेदरल्यान्ड्सले ३ विकेट पराजित गरेको थियो।