राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले बिहीबार मलेसियालाई ६९ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१७ रन जोडेको थियो। नेपालका लागि सातौं नम्बरमा ब्याटिङ गरेका करण केसीले सर्वाधिक ४५ रन जोडे। उनले १३ बलमा ७ छक्का हिर्काए।
११ बलमा ४४ रन बनाउँदा उनले ७ छक्का हिर्काइसकेका थिए। १२औं बलमा अर्को छक्का हिर्काएको भए करणले छिटो अर्धशतकको विश्व रेकर्ड बराबरी गर्थे। सो बलमा छक्का हिर्काएको अवस्थामा उनले युवराज सिंहले १२ बलमा बनाएको विश्व रेकर्ड बराबरी हुन्थ्यो। तर करणले सो बलमा एक रन मात्र लिन सके।
खेलपछि करणले आफूले १२औं बलमा छक्काका लागि हिर्काए पनि राम्रो बल भएकाले एक रन मात्र लिन सकेको प्रतिक्रिया दिए।
उनको प्रतिक्रिया पढ्नुहोस् :-
ब्याटिङमा मेरो रोल हिटिङ गरेर राम्रो फिनिस गर्ने हो।
तीन ओभर बाँकी थियो। एउटा बाउन्ड्री हान्छु, त्यसपछि लगातार हान्छु भन्ने सोचेको थिएँ। कहिलेकाँही लागेको लाग्यै गर्छ, आज त्यस्तै भयो। दुई सय प्लस रन जसरी पनि कटाउछु भन्ने सोचेर गएको थिएँ।
जहिलेसम्म खेल्छु, विश्व रेकर्ड बनाउने सम्भावना हुन्छ। आज मिस भए पनि भविष्यमा हुन्छ होला। त्यस्तो नराम्रो केही लागेको छैन। रेकर्ड बनाउन सकेको भए राम्रो हुन्थ्यो।
बाहिरबाट अझै एउटा छक्का हान भनिरहेका थिए। त्यो रेकर्डकै लागि भनेको होला भन्ने लागेको थियो। छक्का हान्छु भनेर त सोचेको थिएँ। तर बल राम्रै आयो।
सधैं सोचेको जस्तो ब्याटिङ हुँदैन। मैले गर्ने हिटिङ नै हो, त्यसका लागि राम्रो दिन नै चाहिन्छ। सधैं एकनास पनि हुन्न। जुन दिन ब्याटिङ गर्छु नेपाललाई जिताउँछु भनेर नै खेल्छु।
प्रशिक्षक डेभ वाटमोरले समय लिएर खेल भन्नुहुन्छ। अस्ति दोस्रो बलमै आउट भए। त्यसैले प्रशिक्षकले पाँच छ बल हेरेर खेल भन्नुहुन्छ। हिटिङ राम्रो र पावर छ, त्यसलाई उपयोग गर्न पाँच छ बल हेरेर खेल्न प्रशिक्षकको सुझाव छ।
बलिङ गर्ने तरिका हल्का परिवर्तन गरेको छु। चोटबाट फर्केकाले बलिङमा आत्मविश्वास छ, तर पहिला जस्तो भइरहेको छैन। दौडिँदा दुख्छ। दुखाई खेल्दा खेल्दै निको हुने डाक्टरको भनाइ छ।
टिम राम्रो भएकाले टप अर्डरमा खेल्छु भन्ने लाग्दैन। टिममा छ सात जना ब्याट्सम्यान छन्। तर कहिलेकाहीँ सबैले राम्रो ब्याटिङ गरेको देख्दा मौका पाए हुन्थ्यो भन्ने हुन्छ। तर हाम्रो टिम राम्रो छ, राम्रो समिश्रण भइरहेको छ, जहाँ खेलिरहेको छु त्यसमै ठिक छु।