भारतमा जारी १४ औं संस्करणको आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरूद्ध पञ्जाब किंग्स ९ विकेटले विजयी भएको छ ।
मुम्बईले दिएको १ सय ३२ रनको सामान्य लक्ष्य पञ्जाबले १७.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि केएल राहुलले अर्धशतकीय पारी खेले। उनले ५२ बलमा तीन चौका र तीन छक्कासहित अविजित ६० रन बनाए । त्यस्तै, क्रिस गेलले नटआउट ४३ रन बनाए। गेलले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए। गेल र राहुलले ७९ रनको साझेदारी गरेका थिए।
यसअघि मयंक अग्रवालले २० बलमा २५ रन बनाएर आउट भएका थिए।
बलिङमा मुम्बईका राहुल चाहरले एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो ।
उसका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले। उनले ५२ बलमा पाँच चौका र दुई छक्कासहित ६३ रन बनाए । शर्माको यो आईपीएलमा ४० औं अर्धशतक हो।
त्यस्तै, सूर्यकुमार यादवले ३३ र किरण पोलार्डले अविजित १६ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा मोहम्मद शामी र रवि विश्नोईले दुई/दुई तथा दीपक हुडा र अर्शदीप सिंहले एक/एक विकेट लिए ।
यो जितसँगै पञ्जाब अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ ।
यता पाँच पटकको आईपीएल उपाधि विजेता मुम्बईले पनि जारी सिजनमा चार म्याच खेल्दा दुईमा हार र दुई खेलमा जित हात पारेको छ ।