प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू धर्नामा बसेका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा कानुन व्यवसायी आन्दोलित छन्। आन्दोलनस्वरूप आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने उनीहरूको तयारी छ ।
सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित छन्। सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ।
कानुन व्यवसायीको जुलुसमा झडप हुने स्थिति आउने भन्दै केही वकिलहरू पक्राउ परेका छन् । आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडपको स्थिति सृजना भएको थियो।
सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ। बारको टोली सर्वोच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । केहीलाई नियन्त्रणमा लिएको छ।